विराटनगर । उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका पुग्न सर्वसाधारणलाई सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ। उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागी सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिका आफैँले बोलेरो खरिद गरेर सञ्चालनमा ल्याएको हो । सार्वजनिक यातायात नाम दिएर सुरु गरिएको बोलेरोले सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकहरूलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले जानकारी दिए । सार्वजनिक यातायातलाई कार्यविधि बनाएर सञ्चालनमा ल्याइएको छ । ‘दुर्गम भएको कारण पालिकाको केन्द्रसम्म आवतजावत गर्न सर्वसाधारणलाई समस्या हुने गरेको छ, उनले भने, यसको समाधानका लागि सार्वजनिक यातायात सञ्चालनमा ल्याएका हौँ ।’ अन्य सवारी साधनहरू सबै वडासम्म नजाने र सर्वसाधारणलाई आउजाउ गर्नको लागि समस्या भएको गुनासो आएपछि गुनासोका आधारमा पालिकाले नै बोलेरो खरिद गरेको विश्वकर्माको भनाई छ। पालिकाले खरिद गरेको गाडी चढेका सर्वसाधारणले एक बिसौनीबाट अर्को बिसौनीसम्म पुग्नको लागि २० रुपैयाँ तोकिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाले स्वास्थ्य र कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ। किसानले उत्पादन गरेको कृषि जन्य र मासुजन्य उत्पादनलाई बजारसम्म पुर्याउनको लागि दुई वटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषि एम्बुलेन्सले कृषकहरूद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार
पुर्याइ दिने गरेको अध्यक्ष विश्वकर्माले बताए ।
गाउँपालिकाका बिरामीलाई उपचारका लागि अन्यत्र लैजान स्वास्थ्य एम्बुलेन्स सेवा प्रदान गरिरहेको उनको भनाई छ। उपचार नपाएर अकालमा मृत्यु वरण गर्नु नपरोस् भनेर एम्बुलेन्स समेत खरिद गरिएको उनको भनाई छ । दुई वटा कृषि एम्बुलेन्सलाई करिब ५२ लाख लागेको तथा सार्वजनिक यातायातको लागि खरिद भएको बोलेरोलाई ३१ लाख १५ हजारमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले जानकारी दिए ।