विराटनगर । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनको तयारी पारेको छ। कोशी प्रदेशका सबै पालिकामा एकै दिन प्रतिनिधि छनौट गर्ने भएको हो । कोशी प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो । असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने तयारी भएको प्रदेश कमिटी सहसचिव शैलेश लामाले जानकारी दिए ।
एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि एक हजार एक सय जनासम्म प्रतिनिधि प्रदेश अधिवेशनमा आउने जनाइएको छ। प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरूलाई एकै दिन भदौ २३ गते शपथग्रहण गराउने निर्णय पनि गरेको छ ।
प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति गठन गरेको प्रदेश कमिटी बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्नका लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । पूर्व मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको कार्यदलमा अर्का पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुबोध प्याकुरेल सदस्य छन् । कार्यदलले बनाएको दस्ताबेजलाई अधिवेशनमा पेस गरिनेछ ।
सर्वसम्मत रूपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने बाटो पनि खुल्ला राखिएको लामाले बताए ।