विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरूले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्य छाएको बताएका छन्  ।  नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको १३ औँ पुण्य तिथिका अवसरमा नेपाली काँग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेताहरू व्यक्तिगत स्वार्थ र सत्ता केन्द्रित हुँदा जनतामा निराशा छाएको बताए ।  नेता कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे ।  नेपालका सबै पार्टीका नेताहरूले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको तर्क छ।   राजनैतिक पेसा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।  “राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेसा व्यवसायी गर्दा भइगयो नि,” उनले भने,“पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यथिती बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरू आएका छन् ।”  मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा भएको कार्यक्रममा नेता वसन्त भट्टराई, गोपाल राज भण्डारी, विश्वनाथ रिजाल, हरिनारायण चौधरी, मृदुला कोइराला, जिल्ला सचिव मोदराज घिमिरे, ललित श्रेष्ठलगायतले स्वर्गीय न्यौपानेको राजनैतिक र सामाजिक व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो । नेविसंघ मोरङको संस्थापक सचिव न्यौपाने २०३३ देखि ३६ सालसम्म केन्द्रीय सदस्य थिए ।