इटहरी । इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ ।
इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा भोलि(आइतबार) देखि तीन पाङ्ग्रे ई–रिक्सा चलाउन रोक लगाएको छ ।
इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरपालिका भित्र चलाउन दिने पनि निर्णय भएको छ ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।
अब देखि सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।
शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चौक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।
अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ । अहिले ई–रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरू यात्रु पर्खेर बस्न पाउने छैनन् ।
कार्यविधि अनुसार व्यवस्थित गर्दै ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ ।
इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको तर इटहरीमा केवल ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।।