विराटनगर । विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय वैकल्पिक चिकित्सा विभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला व्यायामशाला निर्माण गरिएको छ । वडाका बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘ लाखौँ खर्च गरेर फलामको डन्डा गाडेर बत्ती बेरेर सेल्फी रोड बनाई राखेको हामीले देखेका छौँ । तर हामीले सामान्य खर्चमा पनि हरियाली सहितको गार्डेन निर्माण गर्न सकिने रहेछ भनेर उदाहरण दिएका छौँ ।’ विराटनगर महानगरपालिकाको सहयोगमा पार्क क्षेत्रमा टायल्स र माटो पुर्ने काम गरिएको उहाँले बताउनुभयो ।
खुल्ला व्यायामशाला परिसरमा आज विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, वडा नं. ७ अध्यक्ष मधुबाबु तिवारी, ८ का अध्यक्ष राम पोखरेल, वडा नं. ८ का सदस्य मो. अब्ब्वास, भुवन राजवंशी, बुद्ध मिलन वाचनलयका अध्यक्ष उज्ज्वल प्रसाईँ लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।
पार्क परिसरमा वृक्षारोपण गर्दै उपप्रमुख कार्कीले वडाले सामान्य खर्चमा उत्कृष्ट कार्य गरेको बताउनुभयो । महानगरका हरेक वडामा हरियाली पार्कको आवश्यकता रहेको उहाँले बताउनुभयो । पार्कको संरक्षण बुद्ध मिलन वाचन लयले गर्ने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।