विराटनगर । विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ ।
व्यायामशाला परिसरमा वृक्षारोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम शुरु भएको हो । जस अन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी, ८ नम्बर वडाका अध्यक्ष राम पोखरेल, वडासदस्य भुवन राजवंशी, मोहम्मद आवासलगायतले वृक्षारोपण गरेका थिए ।
सो बगैँचाको संरक्षण बुद्धमिलन वाचनालयले गर्ने अध्यक्ष उज्वल प्रसाईंले बताए । बिजुली बत्ती लगाएर सौन्दर्यकरण गर्दा लामो समय नटिक्ने भएका कारण थोरै खर्चले खुल्ला व्यायामशालालाई आकर्षक बनाउने वडाध्यक्ष पोखरेलले बताए ।