विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज पनि हेर्दा हेर्दैमा सकिएको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदन उपर आज विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएको र निवेदकेका तर्फबाट कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले छ ।
नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले आज पनि रिटको सुनुवाइ हेर्दा हेर्दैमा सकिएको बताए ।
उनले निवेदकका तर्फका कानुन व्यबासायीहरुले जवाफी बहस सकेपछि फैसला आउने बताए । भोली बिदा भएका कारण पर्सी मात्रै जवाफी बहस हुने छ ।
सर्वोच्च अदालतका न्यायधीशसहरु सपना प्रधान मल्ल, डा।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोबाट रिट उपर सुनुवाइ चलिरहेको छ । हिजो निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।
विपक्षीको तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायधिवक्ता बुद्धिबहादुर कटुवालसहित विपक्षी कानुन व्यवसायीले अध्यक्षता गर्ने इस्राइल मन्सुरी सभामुख वा उपसभामुख नभएको तथा उपसभामुखले बैठक नचलाएपछि बाध्यात्मक रूपमा उनले बैठकको अध्यक्षता गरेकोले उनले मत दिन मिल्ने जिकिर गरे ।
प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता दिनमणि पौडेल, नायब महान्यायाधिवक्ता द्वय विश्वराज कोइराला र सञ्जीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरे । उनीहरूले विश्वासको मत सम्बन्धमा मतदान हुँदा सभामुख र उपसभामुख दुवै नरहेको अवस्थामा बैठकमा उपस्थितमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेको र त्यसरी बैठकको अध्यक्षता गर्ने व्यक्ति सभामुख नरहेकै कारण दलको ह्वीपसमेत लाग्ने भएकाले संविधानको धारा १८८ बमोजिम विश्वासको मत दिन मिल्ने दाबी गरेका गरे ।
मुख्यमन्त्री उद्धव थापासँग बहुमत अर्थात् ४७ सांसदको समर्थन रहेको भन्दै उनीहरूले मुख्यमन्त्रीसँग बहुमत हुँदाहुँदै ठुला दलको हिसाबले अर्को सरकार गठन हुन नसक्ने जिकिर गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ को व्यवस्था कायम रहँदारहँदै उपधारा ३ मा जान नमिल्ने उनीहरूको दाबी छ ।
मुख्यमन्त्रीका तर्फबाट निजी कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, गोविन्द बन्दी मुक्ति प्रधान, खम्मबहादुर खाती, विजय मिश्रलगायतले बहस गरेका छन् ।
सोमबार निवेदकका तर्फबाट भएको कानुन व्यवसायीले मन्सुरीको हैसियत सभामुख सरह रहेकोले उनले मत दिन नपाउने बताएका थिए ।
अध्यक्षता गरेको व्यक्तिले मत बराबरी भएको अवस्थामा मात्र मत दिन पाउने भन्दै उनीहरूले थपाले पाएको विश्वासको मत बदरयोग्य रहेको जिकिर गरेका थिए ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।