विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्धको रिटको जवाफी बहस सकिएको छ । रिट निवेदक एमाले संसदीय दलका नेता हिक्मत कार्कीको तर्फबाट वरिष्ठ अधिवत्ताहरु टिकाराम भट्टराई, रमेश बडाल र डा सुरेन्द्र भण्डारी लगायतले जवाफी बहस गरेका थिए । जवाफी बहस सकिएको र इजलासको ढोका बन्द गरिएको कोशी प्रदेशका पूर्व मुख्य न्यायधिवत्ता गजेन्द्र आचार्यले बताए । उनले जवाफी बहस सकिएकाले न्यायधिसहरु आन्तरिक तयारीमा लागेको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तवरले विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा भदौ ६ गते रिट दायर भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख उद्धव थापा, सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरी र अध्यक्ष मण्डलका सदस्य गीत तिम्सिनालाई विपक्षी बनाएर रिट दायर भएको थियो । निवेदकको पक्षमा सोमबार कानुन व्यवसायीहरूले बहस गरेका थिए । मङ्गलवार विपक्षीका तर्फबाट बहस भएपछि आज निवेदकका तर्फबाट जवाफी बहस भएको हो ।
सर्वोच्च अदालतका न्यायधीशसहरु सपना प्रधान मल्ल, डा ।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट रिट उपर सुनुवाइ भइरहेको छ ।
भदौ ४ गते प्रदेश सभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत विभाजन सकिएर मत सच्याउने समय समेत अन्त्य भइसकेपछि मतदान गरेका थिए ।
९३ सदस्य रहेको प्रदेश सभाको बहुमत ४७ पुर्याउन ४७ सिट आवश्यक पर्दछ । सभाको अध्यक्षता गरेका मन्सुरीले मतदान गरेपछि उनै मन्सुरीले थापाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
एमाले नेता कार्कीले सो कार्य गैर संवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा भदौ ६ गते रिट दायर गरेका हुन् ।रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।