विराटनगर । सिटी नेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा विराटनगर महानगरपालिका चयन भएको छ। विराटनगरमा सम्पन्न भएको वार्षिक साधारण सभा एवं अधिवेशन २०८०बाट विराटनगर महानगरपालिकालाई अध्यक्ष बनाउँदै १३ सदस्य समिति निर्वाचित भएको हो । उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपालिका चयन भएका छन्  । त्यस्तै सदस्यहरूमा पोखरा, भरतपुर, ललितपुर महानगरपालिका सहित जितपुर सिमरा, हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिका छन्  । IMG_6554संस्थागत सदस्यहरूमा भूकम्प प्रविधि समाज नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सदस्य छन्  । १६ वटा नगरपालिकाका मेयर तथा उपमेयरहरू सहभागी  अधिवेशनले विधान पारित गरेको  निवर्तमान अध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले जानकारी दिइन्  । बैठक तथा अधिवेशनमा भएका निर्णयहरूको बारेमा जानकारी दिँदै  लामाले सदस्य पालिकाहरूको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवर्द्धन, फोहोर मैला व्यवस्थापन, दिगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापन र कार्यान्वयनमा हुने सहकार्यकालागि उपलब्धिमूलक रहने विश्वास गरिएको बताइन्  । 
‘स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको व्यवस्थापनकोलागि हेटौँडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरूको सहकार्यमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ, लामाले भनिन्, सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न तयारीकालागि पोखरा महानगरपालिकाको मेयरको संयोजकत्वमा समिति बनाइएको छ।’ IMG_6561
सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरमा २१ नगरपालिका संस्थागत सदस्यहरू रहेका छन् भने २१ वटा विस्तारित नगरपालिका सदस्यहरू रहेका छन् । जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी  एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको हो । जापानमा स्थापित यो संस्थाले मलेसिया, श्रीलङ्का, भारत, नेपाल, इन्डोनेसिया, फिलिपिन्स लगायत १९ देशमा सञ्जाल बनाइसकेको छ।  नेपाल यस सञ्चालमा २०५८ साउन २७ सिटी नेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्याप्टरको रूपमा रहेको छ।  सिटिनेटको सञ्जालमा जोडिनकोलागि नगरपालिकाको न्यूनतम जनसङ्ख्या १ लाख बढी भएको हुनु पर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार रहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । यस संस्थाको २०७९ फागुन १९ र २० गते धनगढीमा पुर्ण बैठक बसेको थियो भनेँ २०८० भदौ २१ गतेको अधिवेशनले विधान पारित गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।