विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथको तयारी भइरहेको छ । सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारीपछि प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी सुरु गरेको छ । मुख्यमन्त्रीको सपथ ग्रहण सँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएको छ । मेन्याङ्गो कार्की नेतृत्वको सरकारमा समेत मन्त्री थिए । सर्वोच्च अदालतको पत्र भर्खरै मात्र विराटनगर आइपुगेकाले तयारी थालिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टा भित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।