सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयले शुक्रवारदेखि आफ्नै नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको छ । २ करोडको लागतमा नव निर्मित भवनको सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गरेसँगै सेवा सुरु गरिएको हो ।
 पुरानो भाडाको भवनबाट सेवा प्रवाह गर्न असहज भएपछि स्थानीय जग्गा दाता रामप्रसाद मेहताले दिएको ३ कठा जमिनमा निर्माण सम्पन्न भएको आफ्नै भवनबाट सेवा सुरु भएपछि सहज भएको छ ।
 हरिनगरमा ७ वर्षअघिदेखि  इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि आफ्नै सुविधा सम्पन्न भवन नहुँदा सेवा प्रवाह असहज बनेको थियो । जिल्लाको सीमावर्ती तथा दक्षिणवती क्षेत्रका चार वटा स्थानीय तहका जनतालाई स्थानीय स्तरमै सरकारी सेवा दिने उद्देश्यले हरिनगरामा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको थियो । यस्तै धरानमा पनि इलाका प्रशासन कार्यालय स्थापना गरेर सेवा दिइँदै आएको छ ।।