इटहरी । इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेको विषयमा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै नेकपा एमालेका जनप्रतिनिधिहरूले माफी मागेका छन् ।
कर वृद्धिको विषयमा आन्दोलनमा रहेको नागरिक समाज इटहरीले गरेको सर्वपक्षीय छलफलमा बोल्दै नेकपा एमालेका वडा अध्यक्षहरू उमेश सुवेदी र प्रभात आचार्यले गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन ।
सर्वपक्षीय छलफलमा उपस्थित वडा अध्यक्षहरू आचार्य र सुवेदीले प्राविधिक त्रुटिका कारण कर वृद्धि भएको स्वीकार गर्दै बढेको कर घटाउनुपर्ने बताएका छन् ।
‘हामीहरूबाट प्रक्रियागत त्रुटि भयो, त्यसको लागि तपाईँहरूसमक्ष र नगरवासीसमक्ष माफी माग्छौँ,’ वडा अध्यक्ष आचार्यले भने, ‘तर त्रुटि भएको अनुभव भइसकेपछि सच्याउनका लागि मैले कार्यपालिकामा पटक पटक कुरा उठाएको छु ।’
वडा अध्यक्ष आचार्यले आर्थिक वर्ष २०८०।८१बजेट पास गर्ने अन्तिम दिन मात्र आर्थिक विधेयक प्रस्तुत गरिएको बताए । आर्थिक विधेयक नहेरी पास गरेको अध्यक्ष आचार्यले बताए । कार्यपालिका बैठकका सदस्यहरूलाई विधेयक दिइएको थिएन । तर पास गरेर नगए अर्को आर्थिक वर्षदेखि कर सङ्कलन नै हुन नसक्ने परिस्थितिमा आफूहरूले सहमति जनाउन बाध्य भएको बताए ।
उपमहानगरको कर सङ्कलन गर्ने सफ्टवेयरको समस्याले पनि नगरवासीले बढी कर तिरिरहेको वडा अध्यक्ष आचार्यले कर तिर्दा सजग हुन आग्रह गरेका छन् ।
यस्तै अर्का वडाध्यक्ष तथा कर समायोजन समितिका संयोजक उमेश सुवेदीले करका विषयमा चेकजाँच गर्ने काम अन्तिम चरणमा पुगेको बताए । करको विषयमा जनताबाट तीव्र असन्तुष्टि व्यक्त भएकाले कर समायोजनका लागि सिफारिस गरिने उनले बताए । फेरी जनताले करका विषयमा आन्दोलन गर्नुपर्ने अवस्था नआउने गरी कर समायोजनका लागि भूमिका निर्वाह गर्ने अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाए ।
सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दलका प्रनितिधिहरुले बोलेका थिए । उनीहरूले कर वृद्धि समायोजन हुनुपर्ने बताएका थिए ।