विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय व्यवस्था पुनर्विचार हुनु पर्ने बताएका छन्  । अहिलेको संसदीय व्यवस्थाको कारण  कोशी प्रदेश सरकारले बहुमत पाउन नसकेको बताएका हुन् । कोशी प्रदेश सरकार दुई दुई पटक असंवैधानिक हुनुको कारण गठबन्धनको निर्णय भन्दा पनि दलले बहुमत नपाएको अवस्थामा यस्ता घटना हुनु स्वाभाविक भएको यादवको प्रतिक्रिया छ । 
‘कोशी प्रदेश सरकार यस्तो हुनुको कारण अहिलेको संसदीय व्यवस्थामा नै दोष रहेको छ, उनले भने, अहिलेको संरचनामा नै पुनर्विचार गरिनु पर्छ । संसदीय व्यवस्थालाई पुनर्विचार गर्नु पर्ने बेला आएको छ।’  यादव समाजवादी मोर्चाले विराटनगरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन आएका हुन् ।  

यादवले  विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली काङ्ग्रेससँग छलफल गरेर नै  समाजवादी मोर्चा बनेको बताए ।  ‘काँग्रेस यो  गठबन्धनबाट तर्सिनु भएको छ भने भ्रमबाट मुक्त हुनु पर्छ, उनले भने,  मोर्चाले काँग्रेसलाई अप्ठेरो पार्दैन, मोर्चा काङ्ग्रेससँग सहकार्य र सहयोगी सहयोगी नै हुन्छ ।’