विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल इतिहासकै पेचिलो अवस्थामा पुगेको बताएका छन । उनले देश पेचिलो अवस्थामा पुगेकाले माओवादीहरू अब एक हुने बताए । उनले देश असजिलो अवस्थामा पुगेकाले समाजवादीहरू एक भएर समाजवादी मोर्चा गठन भएको उल्लेख गरे । समाजवादी मोर्चा नेपालको कोशी प्रदेश स्तरीय सन्देश सभामा बोल्दै उनले नेपालमा सामन्तवादको अन्त्य भएको तर अझै परिवर्तन बाँकी रहेको बताए ।
अहिले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन चाहेकाले यसको प्रतिवाद गर्न समाजवादी मोर्चा गठन भएको हो । ‘नेपालमा महत्त्वपूर्ण परिवर्तन भएको तर समाजवादको स्थापना हुन सकेको छैन, उनले भने, सङ्घीय गणतन्त्र पूर्ण नभएकाले पूर्ण बनाउनका लागि समाजवादी मोर्चा गठन भएको हो ।’
समाजवादी मोर्चा गठनपछि जनतामा उत्साह थपिएको भए पनि केही समूह भने मोर्चा गठनपछि त्रसित भएको बताए । सरकारका अहिलेका गतिविधिहरूले नागरिक सन्तुष्ट हुन नसकेको बताए । नागरिकहरू सन्तुष्ट हुन सकेका छैनन् सबै तिर उकुसमुकुसको अवस्था छ , विप्लवले भने, सबै क्षेत्रमा नयाँ खाले सङ्घर्ष सुरु हुनु पर्छ, पुराना पार्टीहरूले मात्रै सङ्घर्ष गरेर मुलुकले मुक्ति पाउँदैन ।’
मोर्चामा भएका दलहरूका बिचमा पनि सबै कुरामा मेल नहुने बताए । उनले टुक्रा टुक्राबाट लडेर समस्याको समाधान नभएकाले मोर्चाको आवश्यकता महसुस गरेर गठन भएको स्पष्ट पारे ।