विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको नामको विषयमा उत्पन्न विवादको संवादबाट समाधान खोज्नु पर्ने बताए । कोशी प्रदेश सभाबाट दुई तिहाइ भन्दा बढी मतबाट कोशी नाम राखिएको विषयमा  कोशी प्रदेशको नामबारे असन्तुष्टि फैलिएकाले संवादबाटै समाधान खोज्नुपर्ने बताए । विराटनगरमा भएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले कन्फ्रन्टेसनबाट होइन वार्ताबाट समाधान निकाल्नु पर्ने बताए । उनले भने लाखौँ जनता प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट भएका छन् ।

उनीहरूको माग कन्प्रन्टेशनबाट होइन संवाद र वार्ताबाट पुरा गर्नु पर्छ । प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भए लगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’

उनले संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने  बताए । अहिले परिवर्तन उल्टाउन चाहानेहरु एक भएर लागेको र परिवर्तनकारीहरूलाई आक्रमण गरिरहेको बताए । परिवर्तनकारीहरू छाती खोलेर हिँड्न डराउनु पर्ने अनि परिवर्तन विरोधीहरू खुल्लम खुल्ला हिँड्नु परेको प्रधानमन्त्रीले बताए ।

उनले प्रश्न गरे ,   जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक भएर अलिकति डराए जस्तो देखिनु पर्ने ? उनले परिवर्तन विरोधीहरुको मनोबल कस्तो उच्च भएको भन्दै अव समाजवादी मोर्चाले सहेर नबस्ने बताए । उनले भने जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । उनले परिवर्तन विरोधीका विरुद्ध मोर्चाले लाखौँ जनता सडकमा उतार्ने समेत चेतावनी दिए ।