लक्ष्मी उप्रेती
मेचीनगर । जनप्रतिनिधि र कर्मचारीबिच तारतम्य नमिल्नु सङ्घीयता कार्यान्वयनमा मुख्य: बाधक बनेको बुधवार झापाको काँकडभिट्टामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
काँकडभिट्टा स्थित होटल हिकोला हेरिटेजमा मार्टिन चौतारी र रिडर्स झापाले संयुक्त रूपमा आयोजन गरेको ‘सङ्घीयता कार्यान्वयनका सात वर्षः स्थानीय तहका नीति÷कानुन र योजना निर्माणका विविध पक्ष’ विषयक अन्तरक्रियामा मुख्य: वक्ताका रूपमा सहभागी जनप्रतिनिधिहरूले ‘पिएचडी’ होल्डर जनप्रतिनिधिलाई लोकसेवा पास गरेका कर्मचारीले घुमाइरहेको गुनासो गरे ।
‘अहिले देश कर्मचारीले चलाई रहेका छन्’ पूर्व सङ्घीय सांसद विमला विकले भनिन्, ‘नीति÷कानुन र योजना निर्माण जनप्रतिनिधिहरूले गर्छु भनेर नसोचे पनि हुन्छ ।’ व्यवहारिक रूपमा पिएचडी गरेर जनप्रतिनिधिहरू जिम्मेवार निकायमा पुगेका छन् तर एक पटक लोकसेवा पास गरेर आएका कर्मचारीहरूले सत्ताको बागडोर समाएर बसेको बताए ।
लामो समयपछि जनताले चुनेर पठाएका आफ्नै जनप्रतिनिधिहरूले २०७२ साल असोज ३ गते विश्वकै सर्वोत्कृष्ट संविधान जारी गरेको स्मरण गराउँदै पूर्व सांसद विकले भनिन्, ‘संविधान बन्यो, कानुनहरू निर्माण भए थुप्रै कार्यविधिहरू पारित भए तर कर्मचारीका कारण अहिलेसम्म कुनै पनि कानुनहरू कार्यान्वयनमा आउन सकेनन् ।’ कर्मचारीकै हातमा देश रहेका कारण देशमा भ्रष्टाचार र बेथिति बढेको उनले दाबी गरिन् ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले कर्मचारीकै कारण कतिखेर जनप्रतिनिधि अख्तियार पुग्ने अवस्था आएको समेत भन्न भ्याइन् । राज्यले जनताको मत प्राप्त गरेर आएका जनप्रतिनिधिभन्दा लोकसेवा पास गरेर आएका कर्मचारीलाई बढी विश्वास गरेका कारण जनप्रतिनिधिले सोचे अनुसार काम गर्न नपाएको उनको गुनासो छ।
स्थानीयस्तरमा जनताले कस्तो कानुन खोजेका छन् अनि माथिल्लो निकायले कस्तो कानुन बनाउँछ सङ्घीयता कार्यान्वयन यसैमा भर पर्छ, उनले भनिन्, राज्यले जनप्रतिनिधिलाई भन्दा कर्मचारीलाई बढी चिनेका कारण यो समस्या पैदा भएको छ ।’ जनप्रतिनिधिले त नीति निर्माण मात्र गर्ने तर कार्यान्वयन गर्ने पाटो कर्मचारी हुने भएकोले कानुन र ऐन देखाएर यो कहाँ हुन्छ यसरी मिल्दैन यो हुर्दैन् भनेपछि जनप्रतिनिधि पछि हट्नुपर्ने खालको बाध्यता पनि आउने गरेको सुनाइन् ।
मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनप्रतिनिधिलाई कर्मचारीले पिजंडामा थुनेको सुगा झैँ बनाएको आरोप लगाए । कर्मचारीले नगरका वडाध्यक्ष र वडा सदस्यहरूलाई मात्र नभई नगर प्रमुख उपप्रमुख सबैलाई ऐन र कानुनको हाउगुजी देखाएर गुमराहमा राखेको उनले बताए । रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण मार्टिन चौतारीका प्रबन्धक देवराज हुमागाईँ र लोकरञ्जन पराजुलीले गरेका थिए । कार्यक्रममा दिनेश श्रेष्ठले वक्ताको रूपमा आफ्नो विचार राखेका थिए ।