विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशमा संसदीय दलको नेता फेर्ने कसरत सुरु भएको छ । दुई दुई पटक मुख्यमन्त्री भएर पनि विश्वासको मत लिन नसकेको तथा संसदीय दलको नेतृत्व गर्न नसकेको भन्दै असन्तुष्ट समूहले दलको नेता फेर्न कसरत सुरु गरेको हो ।  नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको नेताको रूपमा उद्धव थापा निर्वाचित भएका थिए । 
२९ सदस्य रहेको कोशी प्रदेश सभामा भएको संसदीय दलको नेताको निर्वाचनमा थापाले १८ मत पाएका थिए ।  संसदीय दलको नेताको उम्मेदवार भएका केदार कार्कीले नौ र अमृत अर्यालले २ मत पाएका थिए ।

संसदीय दलको नेता भएपछि उनी गठबन्धनको तर्फबाट दुई पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दुई दुई पटक मुख्यमन्त्री हुँदा पनि विश्वासको मत लिन नसकेको र सरकार टिकाउन नसकेको भन्दै काँग्रेस भित्र उनको आलोचना बढेर गएको छ ।उनी काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् । 

सिटौला निकट भए पनि उनले काँग्रेस सभापति शेरबहादुर देउवा निकट प्रदेश सभा सदस्यहरूको मत पाएका थिए । सभापति देउवा निकट भनेर चिनिने अमृत अर्यालले २ मत मात्रै पाएका थिए ।  पछिल्लो समय भने कोइराला समूहका प्रदेश सभा सदस्यहरूले दलको नेता फेर्नु पर्ने आवाज उठ्न थालेका हुन् । यो आवाजमा देउवा निकट केही प्रदेश सभा सदस्यहरूले पनि साथ दिएको देखिएको छ  । 

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले संसदीय दलको नेताले निकास दिनु पर्ने बताए । 

उनले भने,“उहाँले संसदीय दलको नेताबाट राजीनामा दिएर उहाँले निकास दिनु पर्छ । उहाँलाई जसलाई मन लाग्छ उसैलाई संसदीय दलको नेता बनाए भयो । उहाँले नैतिकताको आधारमा दलको नेता बन्नु हुँदैन ।”
कार्कीले संसदीय दलको नेताले दुई दुई पटक मुख्यमन्त्री हुँदा पनि विश्वासको मत लिन नसकेको र सरकार टिकाउन नसकेको आरोप लगाए । उनले भने यसले पार्टी भित्र र जनमानसमा काँग्रेस प्रति नकारात्मक भाव उत्पन्न भएको छ । दलको नेताले जतिसक्दो चाँडो निकास दिनु पर्छ ।
 
 उनले संसदीय दलको नेताले दलभित्र कुनै छलफल नगरेको एकलौटी ढङ्गले  काम गरेको र संसदीय दललाई नेतृत्व दिन नसकेको आरोप लगाए ।  उहाँ संसदीय दलको नेता मात्रै होइन, नेपाली काँग्रेस प्रदेशको सभापति पनि हो । काँग्रेसलाई बलियो बनाउन उहाँले दलको नेताबाट राजीनामा दिनु पर्छ । पार्टीको गतिविधिमा ध्यान दिनु पर्छ ।