विराटनगर । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमलाले खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई नभएको बताएका छन् । संविधानको मौलिक अधिकार खानेपानीलाई खारेज गर्ने छुट समेत कुनै पनि सरकारलाई नभएको उल्लेख गरे । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घ केन्द्रीय समिति अन्तर्गत युवा उपसमितिद्वारा विराटनगरमा आयोजित ११० औँ बिपी जयन्ती तथा कार्यालय परिसरमा गरिएको वृक्षारोपण कार्यको उद्घाटन गर्दै अध्यक्ष धमलाले कर्मचारीको भविष्य नै संस्थान भएकाले संस्थान जोगाउन सबै एकजुट भएर लाग्नु पर्ने समय आएको उल्लेख गरे ।
युवा समितिका संयोजक मनोज अधिकारीको अध्यक्षता र सचिव सन्दीप अर्यालको सञ्चालनमा रहेको कार्यक्रममा प्रमुख अतिथि धमलाले कार्यरत सबै कर्मचारी र मिलेर संस्थान बचाउने अभियानमा होमिन अनुरोध गरेका थिए । कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घ कोशी प्रदेश अध्यक्ष प्रकाश सापकोटाले पानीको महत्वलाई सरकारले उपेक्षा गर्न नसक्ने बताए । बाल दिवसको समेत शुभकामना दिएका सापकोटाले नागरिकलाई संस्थान र कार्यरत कर्मचारीको सेवालाई गहन ढङ्गबाट बुझाउने अभियानमा लाग्न अनुरोध गरेका थिए ।
कर्मचारी सङ्घका महासचिव पदमहरि राईले  श्रमिकको हकहितको लागि रचनात्मक कार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिए  । राईले २०६६ देखि २०८० सम्म संस्थानको समग्र अर्गनाईजेशन र म्यानेज्मेन्ट नै नगरेको, कर्मचारी सेवा सर्त विनियमावली संस्थान व्यवस्थापनले ल्याउन नसक्नु दुःखद पक्ष भएको भन्दै संस्थान कमजोर बनाउन वर्तमान व्यवस्थापन नै लागेको आरोप लगाए । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्गठनका महिला उपाध्यक्ष मेनका बरालले कर्मचारीको भविष्यलाई अन्धकार बनाउने वर्तमान सिङ्गो व्यवस्थापनलाई छोड्न नसकिने बताइन् । बरालले कार्यालय प्रमुख र लेखा प्रमुख चुप लागेर बस्नु गम्भीर विषय भएको बताइन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष नारायण बाबु कार्की, मोरङ जिल्ला अध्यक्ष सुशील कोइराला, नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घका जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद साह, नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका पूर्व पूर्वाञ्चल उपाध्यक्ष मणिकुमार मास्के, सङ्घका केन्द्रीय सदस्य अनुभा अर्याल, हरि अधिकारी, युवा समितिका कोषाध्यक्ष कल्पना खतिवडा, नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घ विराटनगर इकाई समितिका अध्यक्ष वीरेन्द्रकुमार यादव लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उल्लेख्य सहभागितामा वृक्षारोपण गरिएको छ । अम्बा, बेलपत्र, तेजपात, अमला, पितन्जीया र राजवृक्ष लगायतको विरुवा रोपण गरिएको छ  ।