विराटनगर । विराटनगरमा बसेर लामो समयदेखि साहित्य साधना गरिरहेका चर्चित छन्द कवि हरि कट्टेल मोती पुरस्कारबाट झापामा पुरस्कृत भएका छन् ।
उक्त सम्मान तथा पुरस्कार १५८ औँ मोती जयन्तीका अवरसरमा त्रिफला पुस्तकालय केन्द्रीय कार्यालय झापाले एक समारोहका बीच प्रदान गरेको हो ।
नगद राशीसहित सम्मानपत्र रहेको रहेको उक्त पुरस्कार संस्थाका अध्यक्ष प्रेमप्रकाश फलाहरी, कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर क्षेत्री र विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने कट्टेललाई प्राज्ञ गंगा सुवेदीलगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
समारोहमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरूको व्यापक उपस्थिति थियो ।
कट्टेल चर्चित छन्द कवि हुन् भने कविता, गजल, मुक्तक र समालोचनाका क्षेत्रमा समेत स्थापित साहित्यकार हुन् ।