सुनसरी । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका बिच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र सङ्घीय सरकारलाई गुहारिएको छ ।
दुवै पक्षले आ आफ्नो अडान नछाडेपछि विवाद स्थानीय स्तरमा मिल्न नसकेको हो । एउटै जिल्लाका दुई स्थानीय तहबिचको सीमा विवाद यसअघि पनि पटक पटक हुँदै आएको थियो ।
सीमा विवाद उत्कर्ष पुगे पनि नमिल्दा उक्त क्षेत्रको विकास निर्माण नै प्रभावित हुने देखिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले प्रदेश र सङ्घीय सरकारलाई विवाद निरूपणको लागि सहयोग मागेको छ । धरान र इटहरी उपमहानगरको सिमाना चार कोशे झाडी स्थित सेउती खेलाको पुललाई मानिँदै आएको छ ।
प्रहरी प्रशासन र स्थानीय तहले पनि लामो समय देखी सोही पुललाई सिमाना मानेर काम गर्दै आएको अवस्थामा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले ५ किलोमिटर दक्षिण इटहरी क्षेत्रको पानीपियामा सीमा बोर्ड गाडेपछी विवाद सुरु भएको थियो ।
साम्पाङले दुई पटक गाडेको उक्त बोर्ड इटहरीका जनप्रतिनिधि र नगर बासीले उखलेपछी विवाद बढ्दै गएको हो ।
इटहरी उपमहानगरले सीमा विवाद राजनैतिक विषय भएकाले पहिले नै प्रदेश र सङ्घीय सरकारबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ । धरानले बोर्ड गाडेकै क्षेत्रमा सीमा कायम रहनुपर्ने अडान राखेको छ ।