विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौला सहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेको भन्दै महानगरले तीन जनालाई कारबाही स्वरूप कामबाट हटाएको हो । जागिरबाट हटायएकाहरुमा  नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरी रहेका छन् । 
 भदौ २७ गते ४ः३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसी अगाडि सिटीलाई नगर प्रहरीले ह्वील लक गरेको थियो । ह्वील लकका विषयमा सो फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष  यादवसँग विवाद भएको थियो । विवादका क्रममा  हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जागिरबाट पत्र सार्वजनिक भएको छ । औषधी पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वीललक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।
सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिनिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा  प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष् यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडी बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् । ‘चौतर्फी दबाबका कारणले मेयर साँवले एउटा निमुखा नगर प्रहरीलाई जागिरबाट हटाए । तर, प्रहरी कार्यालय अगाडी नगर प्रहरीमाथि हातपात गर्नेलाई कुनै कारबाहीको लागि प्रक्रिया समेत अगाडी बढाउन सक्नुभएन,’ एक जना नगर प्रहरीले भने ।