इटहरी । प्रहरीले इटहरीबाट १५ लाख रुपैयाँ भन्दा बढीको नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका २ जना सहित नक्कली नोट सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सङ्खुवासभा पांचखपन नगरपालिका ५ का विवेक राई र सङ्खुवासभा मकालु गाउँपालिका ६ बस्ने अजय राई रहेका छन् ।
 उनीहरूको साथबाट एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँको नक्कली नोट, सहित तीन थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
 पक्राउ परेका दुई जनाले काठमाण्डौँ बाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाई छ  । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ । 
इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । 
चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । 
पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई आज शुक्रवार बिहान काठमाण्डौबाट पक्राउ गरेको पनि प्रहरीले जानकारी दिएको छ । 
यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरू भmापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोटहरू फेला परेका थिए । बजार तथा वित्तीय संस्थाहरूमा नक्कली नोटहरू फेला परे पनि प्रहरी मुख्य गिरोहसम्म भने पुग्न सकेको छैन ।।