इटहरी । इटहरी उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा थारु विद्यार्थीहरूलाई बेवास्ता गरेको भन्दै थारु सामाजिक संस्थाहरूले विरोध जनाएका छन् ।
 थारु समुदायका छोराछोरीलाई छात्रवृत्तिमा प्राथमिकता नदिएको उनीहरूको आरोप छ । 
 थारुलाई इटहरीको पहिलो जाति घोषणा गर्ने तर सेवा सुविधा प्रदान गर्दा पक्षपात गरी अवसरबाट वञ्चित गरिएको भन्दै थारुसँग सम्बन्धित विभिन्न संस्थाहरूले विरोध जनाएका हुन । 
थारु विद्यार्थी समाज सुनसरी, थारु कल्याणकारी सभा इटहरी,थारु महिला सभा सुनसरी,थारु महिला सभा इटहरी र थारु कला केन्द्र विराटनगरले संयुक्त रूपमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । 
मेयर पौडेललाई ज्ञापन पत्र बुझाउँदै थारु अगुवाहरूले उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा जनसङ्ख्याको आधारमा थारु समुदायका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन माग गरेका छन् ।
उपमहानगरपालिकाले छात्रवृत्ति वितरण गर्दा महिला,गरिब,जेहेन्दार, आदिवासी जनजाति,मधेसी,अपाङ,पिछडा वर्गलाई कोटा निर्धारण गरेको तर इटहरीका पहिलो जाति थारु समुदायलाई बेवास्ता गरिएको थारु कल्याणकारी सभा इटहरीका सचिव सेसकराम ठानदारले बताए । 
गरिब, जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति सोर्सफोर्सको आधारमा धनीका छोराछोरीलाई वितरण गरिएको पनि सचिव ठानदारले बताए । बहुसङ्ख्यक थारु समुदायका छोराछोरी छात्रवृत्तिबाट वञ्चित भएको उनको भनाई छ ।  
पहिलो जातिको रूपमा सूचीकृत थारुको मर्म र भावनामा चोट पुर्‍याएकाले वितरित छात्रवृत्तिको छानबिन गरी पुनः वितरण गर्न थारु संस्थाहरूले माग गरेका छन् । 
यस्तै उनीहरूले थारु जातिलाई पहिलो जातिमा सूचीकृत गरे पनि कुनै सेवा सुविधाको बारेमा हाल सम्म उल्लेख नगरेको भन्दै विरोध जनाएका छन् । 
प्रथम जाति थारु समुदायको कार्यविधिको प्रस्तावनाहरूलाई थप संशोधन गरी ऐनमा लगी कार्यान्वयन गराउन पनि उनीहरूले माग गरेका छन् । थारु समुदायले पाउनुपर्ने सेवा सुविधा लगायत छात्रवृत्ति उपलब्ध नगराए जुनसुकै आन्दोलन गर्न तयार रहेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
यता, ज्ञापन पत्र बुझ्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले छात्रवृत्ति वितरणमा कुनै त्रुटि भेटिए सच्याउने बताएको थारु कल्याणकारी सभा इटहरीका सचिव सेसकराम ठानदारले जानकारी दिए । 
मेयर पौडेलले पहिलो पटक छात्रवृत्ति वितरण गर्दा थारु जातिको विषयमा कोटा छुट्याउन छुट भएको अर्को पटक वितरण गर्दा व्यवस्था गर्ने प्रतिबद्धता जनाएको सचिव ठानदारले बताए । 
प्रथम जाति थारु समुदायको कार्यविधिको विषयमा पनि आवश्यक कानुनी परामर्श गरी छुटेका विषयलाई समावेश गर्न सकिने बताएको उनले जानकारी दिए । त्यसका लागि थारु कल्याणकारी सभासँग छुट्टै छलफल गर्न तयार रहेको पनि मेयर पौडेलले बताएको सचिव ठानदारले जानकारी दिए । 
tharu

tharu2