विराटनगर । कोशी प्रदेशको सुरक्षा सम्बन्धी बैठक विराटनगरमा सुरु भएको छ । बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर आएका छन् ।
बैठकमा गृह सचिव दिनेश भट्टराई नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख समेत सहभागी छन् ।
विराटनगरमा २ महिना लामो अनिश्चित कालिन निषेधाज्ञा जारी भएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो ।
बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र सुरक्षा चुनौती समाधान गर्न नयाँ कार्य योजना बन्ने बताइएको छ ।
प्रदेशको नामकरण पछि कोशी प्रदेशमा सुरक्षा चुनौती थपिएको छ । पहिचान पक्षधरहरूको आन्दोलन सुरु भएको र पहिचान पक्षधरहरूले युवा दस्ता बनाएपछि सुरक्षा चुनौती बढेको हो ।
उनीहरूसँग अत्याधुनिक सञ्चार सेट समेत फेला परेपछि कोशी प्रदेशमा सुरक्षा चुनौती बढेको र यस बारेमा ब्रिफिङ सुन्न गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुखहरू आएको सुरक्षा श्रोतले जनाएको छ ।
पहिचान पक्षधरहरूले विभिन्न जिल्लामा युवा दस्ता सार्वजनिक गर्दै आएका छन् । यस्तै धार्मिक समस्या समेत प्रदेशमा देखिएको रिर्पोट सुरक्षा निकायमा पुगेको छ ।
धरानमा भएको धार्मिक समस्याका कारण पनि प्रदेश भर सुरक्षा चुनौती थपिएको सुरक्षा निकायको विश्लेषण रहेको छ ।
बैठकमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत गएका कारण प्रमुख भने सहभागी छैनन् । उनी देश भन्दा बाहिर रहेका छन् ।