विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । यही असोज १३ गतेदेखि अमेरिकाको टेक्ससमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मङ्गलवार अमेरिका प्रस्थान गरेका हुन् । मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले बिदाइ गरेकी थिइन् । नेपाल नगरपालिका सङ्घको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) को आयोजनामा हुने सेमिनारमा नेपालबाट मेयर कोइरालाले सहभागिता जनाउने छन् । सेमिनारमा करिब ४० देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।
सेमिनारमा स्थानीय सरकारका समसामयिक विषय तथा मुद्दाहरूमाथि छलफल हुनेछ । सेमिनारमा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मेयर कोइरालाका जानकारी गराए ।
मेयर कोइराला अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । नेपाली समुदायहरूसित छलफल गरी विराटनगरमा लगानी भित्र्याउनका लागिसमेत मेयर कोइरालाले पहल गरिने मेयर कोइरालाको दाबी छ ।