विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गरे । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । उजुरी पेटीकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले क्युआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, समस्या या कैफियत भएमा सिधै क्युआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको क्युआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश सशस्त्र प्रहरी गण विराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा यो क्युआर कोड कार्यान्वयनमा ल्याएको र इलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिने जनाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले क्युआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अनुरोध गरेको छ ।