विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले जनमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमणको क्रममा कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तर रूपमा लागि पर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्मेवारी रहेको बताउँदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरूको सफल अनुसन्धान गरी सङ्गठनको छविलाई सदैव उच्च बनाउने कार्यमा लाग्न आग्रह गरे । प्रहरी कर्मचारीहरूले आपसी भाइचारा, सहयोगी भावना साथ इमानदारी पूर्वक आ–आफ्नो पदीय दायित्व निर्वाह गर्नु पर्नेमा उनले जोड दिए ।
प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बदलिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्व प्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै सङ्गठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताए ।
चोरी पैठारी लगायत अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप क्रियाशील हुनु पर्ने तथा भिड नियन्त्रणमा संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न समेत निर्देशन दिए । उनले कार्यालय, सम्पूर्ण शाखाहरूका साथै भिडियो स्टुडियो रुम, परिचालन कक्ष तथा सीसी टिभी मनिटरिङ रुमको समेत निरीक्षण गरे ।