सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जली नामक गैडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ । पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशी टप्पु पुर्याइएको थियो ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पत्थरीस्थित कोसी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गतको मध्यवर्ती क्षेत्रमा आज दुईवटा गैंडा पहिलोपटक छाडिएको हो ।
विश्व पर्यटन दिवसको अवसरमा चितवनस्थित राष्ट्रिय निकुञ्जबाट सप्तरी ल्याईएको दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले स्वागत गर्दै गैंडा खोरमा प्रवेश गराएका हुन् । चितवनबाट ट्रकमा लोड गरेर सप्तरी ल्याईएको दुवै गैंडालाई ७ घण्टापछि आरक्षको खोरमा प्रवेश गराईएको हो ।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकाल नेतृत्वको प्राविधिक समितिले गरेको अध्ययनबमोजिम गैंडाको बाँसस्थलकोलागि उपयुक्त ठाउँ भएको सिफारिशको आधारमा पुष्पा र अञ्जलीलाई सप्तरी ल्याईएको हो । यसअघि दुवै गैंडालाई माउबाट छुटिएको अवस्थामा उद्धार गरेपछि गत बैशाख ३१ गतेदेखि चितवन निकुञ्जकै लामिताल क्षेत्रमा राखिएको थियो ।
अहिले पुष्पा करिब ४ वर्षको र अञ्जली अढाई वर्ष उमेरका छन् । यता सोही अवसरमा आयोजित मञ्चिय कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री डा. महतोले कोसी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्ती अर्नासहितका वन्यजन्तुबाट हुने समस्या समाधानकालागि तिनै तहको सरकार मिलेर काम गर्नुपर्ने बताए । विगतमा कोसीक्षेत्रमा स्थापना गरिएको आरक्ष र मध्यवर्ती क्षेत्रले स्थानीयलाई हित हुने भनिएपनि त्यसो हुन नसकेकोमा स्थानीयहरुको आक्रोशलाई जायज भन्दै मन्त्री महतोले समस्या समाधानतर्फ जोड दिए ।
सोही कार्यक्रममा पूर्व मन्त्री एवं राष्ट्रिय सभा सदस्य जसपा नेता मृगेन्द्रसिंह यादव, पूर्व मन्त्री एवं एमाले नेता सत्यनारायण मण्डल, मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मी, मधेस प्रदेश सभा सदस्य सकिल मियाँ, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता, कोसी टप्पु मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर खड्कासहितले शुभकामना मन्तब्य दिंदै जंगलबाट फाईदा र नोक्सानी दुवै हुने भएकोले अधिकतम फाईदा हुने गरी कार्यक्रम सबै पक्षबाट सञ्चालन हुनुपर्नेमा जोड दिईयो ।
सोही कार्यक्रममा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. कृष्णप्रसाद ओलीसहितका पनि उपस्थिती रहेको थियो ।
सप्तरीको पत्थरीस्थित कोसी टप्पु
वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा स्थापना गरिएको वन्यजन्तु उद्धार केन्द्रमा
पहिलो पटक दुईवटा गैंडा ल्याईएपछि हेर्न आउने स्थानीयहरुको घुँइचो लागेको थियो ।