विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी दिँदै शुक्रवार उद्घाटन हुने अधिवेशनको तयारी पुरा भएको जनाएको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी प्रसाद न्यौपानेले मनोनित
बाहेकका प्रतिनिधि छनोट लगायतका सबै कामहरू पुरा भएको जानकारी दिए ।
शुक्रवार उद्घाटन भई दुई दिनसम्म अधिवेशन चल्ने जानकारी दिइएको छ। उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुने अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने न्यौपानेले बताए । निर्वाचन र मिसन ग्रास रुट जस्ता कार्यक्रमले गर्दा अधिवेशन पछि सरेको जानकारी दिइएको थियो ।
अधिवेशनमा प्रदेश कमिटीको तर्फबाट बस्तुनिष्ठ समीक्षा, एमालेलाई अब कसरी अघि बढाउने भावी योजना तथा कार्यदिशा तय गर्ने बताइएको छ । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए । योजना कार्यान्वयन गर्न कुशल नेतृत्व छनोट गर्ने गरी तयारी पुरा भएको सोही अवसरमा जानकारी दिइएको छ। नेतृत्व छनौटको कामलाई प्रभावकारी र सर्वसम्मतको प्रयास भइरहेको उनले बताए । महासेठले एमालेलाई सक्ने विभिन्न बाहिरका शक्ति लागिपरेको दाबी गरेका छन् ।
नेकपा एमालेको प्रदेश अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन । ‘मुलुकको राजनीति अब कसरी अघि बढ्ने भन्ने कोसेढुङ्गा प्रदेश अधिवेशनहरूबाट साबित हुनेछ,“प्रदेश अध्यक्ष न्यौपानेले भने, मनोनीत गर्न बाँकीलाई मनोनीत गरी प्रतिनिधिलाई व्यवस्थित गरेर अघि बढ्ने तयारी छ ।’ नेतृत्व चयनका लागि सकभर सर्बसम्मतीको प्रयास हुने र सहमति नभए चुनाव हुने उनले स्पष्ट पारे । एमालेको अब बन्ने प्रदेश कमिटी पाँच जना पदाधिकारीहरू सहित २१५ सदस्यीय हुनेछ ।
प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा एक खालको सन्देश प्रवाह गर्ने गरी अधिबेशनको तयारी भएको बताए । पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य भीम आचार्य, अग्नि खरेल, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे लगायत सहभागी थिए ।