विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्ध कदको सालिक स्थापना गरिएको छ । सालिकको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बिच अनावरण गर्नुभयो । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सती प्रथाजस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको कार्यवाहक मेयर कार्कीले बताइन । उनले योगमाया नारी जागरणको अभियन्ता मात्रै नभएर आदर्शसमेत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यवाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताइन ।   अझै पनि समाजमा लैङ्गिक, जातीयलगायतका विभेदहरू कायमै रहेको चर्चा गरिन् । ‘योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन, उनले भनिन्, हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।’  

वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।