विराटनगर । कोशी प्रदेश सरकारले करम धर्म पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कोशी प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कोशी प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८०लाई सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सस बिच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय भएको उनले बताए । प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय गरेको छ। मन्त्री परिषद्को बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।