विराटनगर । एमाले कोशीको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने देखिएपछि पदाधिकारीमा पनि उम्मेदवार हुने आकाङ्क्षीहरू खुल्न थालेका छन् । बिहीबार सम्म चाहना भएर पनि बोल्न नचाहेकाहरू शुक्रबारबाट भने मत माग्न थालेका छन् । 
एमाले कोशी प्रदेशको सचिजमा दुई जनाले आकाङ्क्षा देखाएका छन् । पाँचथरका राजकुमार भण्डारी र तेह्रथुमका लक्ष्मण तिवारीले सचिव पदमा आकाङ्क्षा देखाउँदै प्रतिनिधिसँग मत माग्न थालेका छन् । उनीहरू माध्ये राजकुमार भण्डारीलाई हेडक्वाटरले ग्रिन सिग्नल दिएको छ । उनी अध्यक्षका प्रत्याशी घनश्याम खतिवडाको प्यानलबाट सचिवको तयारी गरिरहेका छन् । 
कोशी प्रदेश सरकारका पूर्व उद्योग पर्यटन मन्त्री भइसकेका तिवारीले पनि सचिवमा  दाबी रहेको बताए । 
प्रदेशमा दुई वटा उपसचिव पद छ । उपसचिवका लागि प्रदेशसभाका पूर्व सदस्य विमल कार्की, बेलका नगरपालिकाका पूर्व मेयर दुर्गा थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, राष्ट्रियसभाका पूर्व सदस्य मोरङका खेम नेपाली, सत्यनारायण चौधरी, नेतृ विमला घिमिरे र धना तामाङले समेत इच्छा जाहेर गरेका छन् । धना अहिले पनि उप सचिव छन् । यस्तै झापाबाट सुमित्रा भण्डारी र वसन्त बानियाँ लगायतले पनि उप सचिवको दाबी गरेका छन् ।
अहिलेका उपसचिव शैलेश लामा सचिवको दाबी गरिरहेका छन् । यद्यपि नेताहरूले तेह्रथुमका लक्ष्मण तिवारीलाई उपसचिव बनाएर सर्वसम्मतको प्रयास पनि गरेको स्रोतले बताएको छ । 
एमाले कोशीको अध्यक्ष बन्न ४ जनाले आकाङ्क्षा देखाएका छन् । आकाङ्क्षी मध्ये विनोद ढकाल र घनश्याम खतिवडाका बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । खतिवडालाई हेडक्वार्टरले उम्मेदवार बनाउने तयारी गरेको छ ।