विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा पदाधिकारीमा उपाध्यक्ष बाहेक सबै पदमा दुई प्यानलको उम्मेदवारी परेको छ । पार्टी नेतृत्वले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा नजाने भने पनि पदाधिकारीमा प्यानल नै उम्मेदवारी परेको छ ।
अधिवेशनमा अध्यक्षका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा भने टिकाराम चेम्जोंगको मात्रै उम्मेदवारी परेको हो । ए जनाको मात्रै उम्मेदवारी दर्ता भएकाले उपाध्यक्ष निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । सचिवमा उदयपुरका शैलेश लामा, पाँचथरका राजकुमार भण्डारी र झापाका हिरा थापाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत चूडामणि आचार्यले बताए ।
२ पद रहेको उप सचिवमा भने ४ जनाको उम्मेदवारी परेको छ । उप सचिवमा एक जना महिला र ३ जना पुरुषको मनोनयन दर्ता भएको छ । उप सचिवमा झापाकी जलबर्ष राजंबशी, सङ्खुवासभाका भविश्वार गुरुङ, मोरङका खेम नेपाली र खोटाङका देवान राईको मनोनयन दर्ता भएको छ ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।
सदस्यका लागि भने भूगोल अनुसार मनोनयन दर्ता भएकाले तथ्यांक निकाल्ने काम भइरहेको छ । आचार्यले उमेद्वारहरुको दाबी विरोध गर्ने समय सकिएको बताए । उनले ९ बजे सम्म मनोनयन फिर्ता लिने समय रहेको बताए । उनका अनुसार १२ बजेदेखि मतदानको तयारी गरिएको बताए ।
शुक्रवार उद्घाटन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोख्रेल र महासचिव शङ्कर पोख्रेलले सहमतिमा नेतृत्व चयन गर्न नसकिए प्यानल नबनाई स्वास्थ्य प्रतिस्पर्धा गर्न निर्देशन दिए । तर प्रदेशमा भने अघोषित प्यानल बनेको छ । खतिवडाको प्यानलमा सचिव राजकुमार भण्डारी छन् भने ढकालको प्यानलमा शैलेश लामा सचिवमा छन् । उपाध्यक्ष चेम्जोंगलाई भने दुवै पक्षले आफ्नो प्यानलको भएको दावी गर्दै आएका छन् । उनी शुरुमा ढकाल प्यानलमा खुलेका थिए ।
उप सचिवमा जलबर्षा राजवंशी खतिवडा पक्षमा देखिए पनि अन्य तीन उप सचिव खुलेका छैनन् । अहिले पनि आफ्नो आफ्नो प्यानलमा तान्ने र एक मनोनयन फिर्ता गर्न लगाउने प्रयास भइरहेको छ ।