विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन विराटनगरमा जारी छ । विराटनगर स्थित होटल मनास्लुमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आरम्भ भएको छ । यो समाचार तयार पार्दासम्म मनोनयन फिर्ता लिने समय आधा घण्टा बाँकी छ । केही समय पछि मतदान सुरु हुने एमाले अधिवेशन स्थलमा यति बेला निकै चहलपहल रहेको छ । उम्मेदवार तथा उनका समर्थकहरू समूह–समूह तथा एक एक जनालाई भेट्दै भोट मागिरहेको देखिन्छ ।
प्रदेशको नेतृत्वका लागि अध्यक्षमा मोरङबाट नै दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल र प्रदेश कमिटीका नेता घनश्याम भण्डारी अध्यक्षका प्रत्याशी छन् । पार्टीका दोस्रो तहका नेताहरूले पार्टीलाई भन्दै प्रदेशका जिल्ला अध्यक्षहरूलाई घनश्याम खतिवडाको लागि भोट मागेको थाहा पाएपछि धेरै प्रतिनिधिहरू नेताहरूप्रति रुष्ट देखिन्छन् । यसरी आफूलाई जिताउन पार्टीका स्थायी कमिटी सदस्यहरू नै लागेपछि प्रत्याशी खतिवडा ढुक्क देखिएका छन् ।
अर्का प्रत्याशी विनोद ढकाल भने प्रतिनिधिहरूलाई भेट गर्दै आफूलाई तपाईँहरूले नै न्याय गर्ने भन्दै मत मागिरहेका छन् । अधिवेशन स्थलमा रहेका कतिपय युवा कार्यकर्ताहरू खुलेआम पक्षमा लागेका देखिन्छन् भने नेताहरू भित्रभित्रबाट मत मागिरहेका पाइन्छन् । मोरङकी प्रतिनिधि कला डाँगीले कार्यकर्तालाई ‘म्यान’ नेता नभई डाइनामिक नेता चाहिएको बताइन् ।
उनले नेताहरूले पार्टीभित्रै घेराबन्दी गरेर घनश्याम खतिवडालाई भोट मागेको तथा नदिए अनेक खालका चेतावनी दिएको सुन्न थालिएको भन्दै यो पार्टी अध्यक्ष तथा विधानको समेत विपरीत भएको बताइन् । उनले भनिन्,‘हामीलाई नेताहरूले बोकेर बनाउने म्यान हैन डाइनामिक लिडरको आवश्यकता छ ।
’ यस्तै झापाको दमकबाट आएका एक प्रतिनिधिले नेताहरूले हरेक जिल्लाका अध्यक्षहरूलाई घनश्यामका पक्षमा मतदान गर्न ह्विप नै जारी गरेपछि प्रतिनिधिहरू दबाबमा परेको बताए । उनले भने,‘गोप्य मतदानमा यस्ता ह्विपको खासै अर्थ राख्दैन, यो अन्यायपूर्ण व्यवहार हो । यसलाई क्रस गर्नुपर्छ, हामी गर्छौँ।’
लोकतान्त्रिक प्रणाली अवलम्बन गरेको पार्टीमा यस्तो घेराबन्दी हुनु राम्रो नभएको समेत बताए । यद्यपि उनले आफ्नो नाम भने सार्वजनिक नगर्न आग्रह गरे । नेताहरूले फ्लोर क्रस गरे आगामी दिनका अवसरबाट वञ्चित गर्नेसम्मका धम्की दिइरहेको प्रतिनिधिहरूको भनाई छ ।
सुनसरीका एक प्रतिनिधिले भने,‘ह्विप बराबर नै छ, तर धेरै मत नेताका ह्विप विरुद्ध जान्छ ।’ नेता खतिवडाको पक्षमा भोट माग्नेले एकातिर खतिवडालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको हवाला दिएर विगत लामो समयदेखि अध्यक्ष ओलीको राजनीतिक वैचारिक लिगेसी थाम्ने युवा नेता ढकाललाई किनार लगाउने प्रपञ्च रचेको प्रतिनिधिहरूको आरोप छ ।