विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयन कालागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट गणना सुरु गर्ने भनिए पनि ५ बजेबाट मत गणना सुरु भएको हो ।
मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् ।
गणना स्थलमा प्रतिनिधि भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले र ७ स्थानमा मतगणना हुने बताए ।
उनले जिल्ला भूगोल र पदाधिकारीको मत गणना एकै पटक हुने जानकारी दिए । उनले निर्वाचनको परिणाम आज राती आउने बताए ।
कोशी प्रदेशमा १ अध्यक्ष, १ सचिव र २ उप सचिवका लागि निर्वाचन भएको हो । यसका लागि प्यानल वाइज उम्मेदवारी परेको छ ।
यस्तै २५१ जना प्रदेश सदस्यका लागि ४२५ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदान भएको छ । कुल ९ सय ९७ जना प्रतिनिधि मध्य ९ सय ७७ मत खसेको छ ।
मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।
यसै गरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उम्मेदवार छन् ।
२ जना उपसचिवमा ३ जनाको मनोनयन परेको छ । उप सचिवमा खोटाङका देवान राई झापाकी जलबर्षा राजवंशी र मोरङका खेम नेपालीको मनोनयन दर्ता भएको छ ।