विराटनगर । कोशी प्रदेश सभाको बैठक आजदेखि बस्दैछ । कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशसभाको चौथो अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने, बजेट अध्यादेश तथा केही विधेयकहरू पेस गर्ने जनाइएको छ। ठुलो दलको हैसियतमा सरकार बनाएको नेकपा एमालेले विश्वासको मत पाउन अन्य दलहरूको सहारा लिनु पर्नेछ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो ।
२०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ । यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कोशी प्रदेशमा १० महिनामा चौथो अधिवेशन हूँदैछ । सरकार हेरफेर र किचलोका कारण कोशी प्रदेशमा राजनीतिक अस्थिरता र सरकारका काम कार्वाहीले गति लिन सकेको छैन । चालु आर्थिक वर्षको बजेट समेत अध्यादेशबाट ल्याइएको छ, अहिलेसम्म बजेट पारित हुन सकेको छैन ।