विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले निष्पक्ष काम गर्न नसकेको आरोप लगाएका छन् । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नेतृत्व चयन गर्ने क्रममा निर्वाचन आयोगले निष्पक्ष काम गर्न नसकेको बताएका हुन् । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोशी प्रदेशमा रहेको निर्वाचन आयोगले गरेका काम कारबाही टिप्पणीयोग्य र आलोच्य काम कारबाही भएको भन्दै आलोचना गरेका हुन् । ‘जस्तो निर्वाचन आयोगको काम कारबाही हुनुपर्थ्यो त्यस्तो निर्वाचन आयोगको काम कारबाही हुन सकेन, ओलीले भने, आगामी दिनमा त्यस्ता कुराहरू सच्याइनू पर्दछ, न्यायिक मन नभएका, न्यायमा निष्पक्ष नभएका, न्यायपूर्ण व्यवहार गर्न नसक्ने साथीहरू निर्वाचन आयोगमा नबस्नु पर्थ्यो ।’
कुनै पनि अवस्थामा निर्वाचन आयोगमा बसेका साथीहरूले संयम गुमाउनु नहुनेमा संयम गुमाएको समेत ओलीले भन्न भ्याए । निष्पक्षताको प्रश्न उठाउँदै ओलीले निर्वाचन आयोगले निष्पक्षताको बाटो छोडेको आरोप लगाए । ‘न्यायाधीशको कुर्सीमा बसेका व्यक्तिले यो मेरो त्यो उसको मान्छे भन्नु हुँदैन, उनले भने, त्यो कुर्सीमा बसेपछि एकै खालको व्यवहार गर्नुपर्छ, निर्वाचन आयोगबाट केही कमजोरीहरू भएका छन् । ’
उनले कोशी प्रदेश अधिवेशनलाई नजिकबाट मसिनो गरी नियालेको बताएका छन् । ‘ अधिवेशनमा कति लोकतान्त्रिक अभ्यास भए, कति अलोकतान्त्रिक आचरण भए, कति लोकतान्त्रिक र जिम्मेवार अभिव्यक्ति दिइए, कति सहनशीलतापूर्ण अभिव्यक्ति आए आएनन् यी सबै मैले नजिकबाट हेरेको छु, उनले भने, कसले कस्तो खालको भूमिका खेल्यो त्यो पनि हेरेको छु ।’ उनले चुनाव लड्नु आफ्नो अधिकारको कुरा भए पनि त्यसलाई स्वच्छ बनाउनु भनेर उद्घाटनको दिन नै भएको बताए । उनले हुँदा सहमतिबाट र नहुँदा मात्र निर्वाचनमा जानकोलागि आफूले उद्घाटनको बेलामा नै भनेको भए पनि अधिवेशनमा भएका गतिविधिहरू गैह्र लोकतान्त्रिक चरित्रको भएको उल्लेख गरे ।
चुनाव लड्दा निष्पक्ष हुनु पर्छ भनेर भन्दा भन्दै पनि त्यस्तो हुन नसकेको ओलीले बताए । धैर्य र मेहनतले उपलब्धि पाउन सकिने बताएका ओलीले नेकपा हुँदा आफूलाई पार्टीको साधारण सदस्यताबाट हटाउँदा समेत धैर्यताले नै नेकपा एमाले अहिले यहाँ आएको उल्लेख गरे । ‘सर्वसम्मत नेतृत्व चयन नै सबैभन्दा बलियो लोकतान्त्रिक अभ्यास हो, उनले भने, निर्वाचनले बैमनश्यता र रिस राग निम्त्याउँछ ।’