विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   विराटनगरमा रहेको होटल कन्चनजंगामा एक कार्यक्रमका बिच निर्वाचित सबै सदस्य तथा पदाधिकारीले शपथ लिएका हुन्  ।  निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई नेकपा  एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ गराएका हुन्  ।  sapath
नेकपा एमालेको असोज १२ र १३ गते विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।  प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा  घनश्याम खतिवडा र विनोद ढकाल बिच प्रतिस्पर्धा भएको थियो । ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा  अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका  प्रतिस्पर्धी ढकालले ४३० मत मात्र प्राप्त गर्न सफल भएका थिए ।  उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए ।  उपसचिवमा झापाकी जलवर्षा राजवंशीले  ६२८ र खोटाङका देवान राईले ६१० मत ल्याएर विजयी भएका छन् । प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्वाचित भएको छ। sapathaa

निर्वाचित भएका सबै  पदाधिकारी तथा सदस्यहरूले बुधवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शपथ पछि कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष खतिवडाले  निष्पक्ष भएर पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले  एमाले विरोधी गतिविधिलाई परास्त गर्दै इमान्दार र स्वाभिमान पूर्वक पार्टीलाई सक्रिय बनाउने उद्घोष गरे ।  उनले मिसन २०८४ लाई सफल बनाउनको लागि आफु लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।