विराटनगर । कोशी प्रदेशका प्रदेश सभा सदस्य निर्मला लिम्बुले मन्त्रीबाट पदमुक्त एक महिना पुग्दा समेत मन्त्री क्वाटर खाली गरेकी छैनन् ।
स्वास्थ्य मन्त्रालयले मिठाकुमारी खतिवडाको तीन तलाको घर २९ हजार रुपैयाँ मासिक बुझाउने गरी पुस मसान्तसम्म सम्झौता गरेको छ । उनी सोही घरमा बस्दै आएकी छन् ।
लिम्बु जनता समाजवादीबाट प्रदेश सभा सदस्य भएकी हुन् । कोशी प्रदेश सभामा एक मात्रै सिट रहेको जसपाको उनी एक मात्रै प्रदेश सभा सदस्य हुन् ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रीबाट हटे पनि उनले बुढीगंगा गाउँपालिकाको हात्तिमुढामा रहेको मन्त्रीको सरकारी निवास प्रयोग गरिरहेकी छन् ।
उनले मन्त्री हुँदा पाएको सुविधा समेत फिर्ता नगरी बसेकी छन् । मन्त्री भएबापत कोशी प्रदेश सरकारले दिएको कार्यालय सहयोगी र पिएसो समेत फिर्ता पठाएकी छैनन् ।
उनले पिएसो रेनुका सुनाम र सहयोगी राजेश राजवंशीलाई साथैमा राख्दै उनीहरूबाट सेवा समेत लिँदै आएको भेटिएको छ ।
उनी कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएकी थिइन् । स्वास्थ्य मन्त्री भएपछि कार्यालय सहयोगी राजेश राजवंशीलाई मन्त्रालयले राजवंशीलाई मन्त्रीको सहयोगीको रूपमा पठाएको थियो ।
उनी अहिले सम्म फिर्ता भएका छैनन् । उनी अहिले पनि प्रदेश सभा सदस्य निर्मला विराटनगर भएका बेला खान पकाउन जाने गरेका छन् ।
मन्त्रालय श्रोतका अनुसार किन फिर्ता नआएको भनेर सोध्दा निर्मला पुन मन्त्री हुने भएकाले अहिले नजानु भन्दै काममा आउनु भनेकाले जाने गरेको जवाफ दिँदै आएका छन् ।
पिएसो रेनुका भने दिनहुँ जसो स्वास्थ्य मन्त्रालयमा आउने गरेकी छन् । उनलाई समेत फिर्ता नपठाइएको मन्त्रालय श्रोतले जनाएको छ ।