इटहरी । धरानको घण्टाघरमा मालीको रूपमा कार्यरत मजदुरहरू राजेश राई र नरबहादुर सुब्बालाई कामबाट निकालेकोमा न्यायका लागि धरानका तीन वटा ट्रेड युनियनहरूले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस आबद्ध विभिन्न सङ्गठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयर साम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरूलाई पुनर्बहाली या न्यायोचित अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरूलाई पुनर्बहाली पहिलो सर्त भएको बताए । उनले यदि बिदाइ गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरूलाई न्यायोचित अनुदान दिएर बिदाइ गर्नु पर्ने बताए ।
घण्टाघरमा मालीको काम गर्दै आइरहेका नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकाश राई २०७२ साउन १३ गतेदेखि सेवा गर्दै आइरहेका थिए । उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै कुनै पनि क्षतिपूर्ति नदिई निष्कासन गरेको थियो ।
सो विषयमा साम्पाङलाई तीन वटै ट्रेड युनियनहरूको तर्फबाट संयुक्त ज्ञापन पत्र बुझाएपछि भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरूको उपस्थितिमा सहमति भएको थियो । सहमति अनुसार निकालिएका मालीहरूलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरूप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो । तर, असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा मजदुरहरूलाई अनुदान दिने विषयमा कुनै निर्णय नभएपछि मेयरलाई भेटेर तत्काल यस विषयमा ध्यानाकर्षण गराएको थियो ।
छलफलपछि मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्द नभएकाले निर्णय गर्न नसकिएको बताएका थिए । घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आई नसकेको, अन्य पैसा समेत कहाँ गयो भन्ने टुङ्गो नभएको बताउँदै समितिले राखेको त्यही पैसाबाट मजदुरहरूलाई अनुदान सहयोग गर्नु पर्छ नगर प्रमुखले बताए । उनले भने त्यो पैसा खोज्न मलाई सहयोग गर्नुस् ।