विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । विश्वासको मतकालागि शनिवार दिउँसो १ बजेलाई प्रदेश सभाको बैठक बोलाइएकोमा उनले विश्वासको मत नै नलिई राजीनामा घोषणा गरेका हुन् । गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत नलिई उनले राजिनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८को उपधारा ३ अनुसार प्रदेश सभामा ठुलो दलको हैसियतमा मुख्यमन्त्री भएका थिए ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कार्कीले विश्वासको मत पाउने सम्भावना कमजोर भएपछि उनी राजीनामा दिने अवस्थामा पुगेका हुन् । प्रदेश सभामा कायम रहेको सदस्य सङ्ख्या ९३ जना रहेकोमा ४७ जना सांसद भएपछि मात्र विश्वासको मत पाउन सक्ने देखिन्छ । प्रदेशसभामा एमाले र राप्रपा सरकार गठबन्धन रहेका छन् । उनीहरूको सङ्ख्या ४६ जना मात्र रहेकोले उनी विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका हुन् । उपसभामुखबाहेक एमाले र राप्रपा जोड्दा ४५ सिट मात्र पुग्छ । बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ ।
कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सहितको कोशी प्रदेश सभामा९३ जना सांसद रहेका छन् । प्रदेश सभामा सम्बोधन गर्दै कार्कीले कोशी प्रदेश नामकरणको सन्दर्भमा दलहरू एक ठाउँमा रहेको भए पनि जनताको आशा र आकाङ्क्षा र आलोचना रोक्ने कुरामा एक ठाउँमा नरहेको बताए । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा मिलीजुली सरकार बनाउनु नै कानुनी व्यवस्था रहेकोले सबै मिलेर सरकार बनाउनु पर्ने बताए । पहिलो २०७९ पुस २४ गते बमुहमतीय प्रक्रिया अनुसार पहिलो पटक मुख्यमन्त्री भएका कार्की दोस्रो पटक प्रदेश सभामा ठुलो दलको रूपमा संविधानको धारा १६८ (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री बनेका थिए ।