विराटनगर । कोशी प्रदेशबाट प्रदेश खारेजी आन्दोलन सुरु भएको छ। सचेत नागरिक अभियानको नाममा प्रदेश खारेजी आन्दोलन सुरु भएको हो । नागरिकको लागि प्रदेश संरचना भारी भएको भन्दै सचेत नागरिकहरूले आन्दोलन सुरु गरेका हुन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा सुरु भएको अभियानमा युवाहरूको सहभागिता बढी देखिएको छ। त्यसमा ज्येष्ठ नागरिकहरूले पनि सहमति जनाएका छन् । नाम मात्रको प्रदेश संरचनालाई नागरिकले थेग्न नसक्ने भन्दै उनीहरूले प्रदेश संरचना नै खारेज गरी नागरिकलाई करको भारबाट मुक्त गर्नु पर्ने उनीहरूको माग छ ।
प्रदेश खारेजी अभियानको मोटरसाइकल र्याली कञ्चनवारीबाट बरगाछी, महेन्द्र चोक, रोड शेष हुँदै जलजलाबाट तीन पैनी, पुष्पलाल चोकबाट आयल निगम हुँदै पुनः कन्चनवारीमा पुगेर सम्पन्न भएको थियो । ‘प्रदेश सरकार चाहिँदैन–देश डुबाउन पाइँदैन, सारा नेपालीको एउटै आव्हान, प्रदेश खारेजीको एउटै अभियान’ नारा सहितको मोटरसाइकल र्याली निकालिएको हो । र्यालीमा करिब एक हजार मोटरसाइकल सहभागी रहेको अभियन्ता आभास अधिकारीले जानकारी दिए ।
यो अभियानमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र तथा एमाले लगायतका तल्लो तहका कार्यकर्ता सहभागी भएको अर्का अभियन्ता माधवप्रसाद आचार्यले जानकारी दिए । ‘आजको पहिलो दिनको आन्दोलन हो, यो आन्दोलनलाई सबैले साथ दिनु भएको छ, उनले भने, हामीलाई प्रदेश संरचना अत्यन्त बोझिलो भयो, कुनै पनि हालतमा प्रदेश संरचना खारेज गरेर सङ्घ र स्थानीय तह मात्र कायम राखिनु पर्छ ।’ नाम मात्रको पार्टी कार्यकर्ता भर्ती केन्द्रको रूपमा प्रदेश संरचनालाई बनाइएको अभियान्ताहरुको भनाई छ।