विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा अब  माओवादीले दाबी गर्ने भएको छ। कोशी प्रदेशमा नेपाली काँग्रेस दुई पटकसम्म असफल भएकोले अब माओवादीको नेतृत्वमा सरकार बन्नु पर्ने धारणा बाहिर आएको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा अब आफ्नो दाबी रहेको बताए । आङ्बोले नेपाली काँग्रेसले सरकार गठन भएर पनि दुई दुई पटकसम्म विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  राजीनामा दिएसँगै कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ । कार्की यस अघि संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गरेका थिए ।   नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा मध्यावधि रोक्नको लागि माओवादीको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए । सञ्चारपाटी डटकमसँग कुरा गर्दै आङ्बोले अब कोशीमा माओवादी नेतृत्वको सरकार बनेको अवस्थामा कोशीमा मध्यावधिमा जानबाट रोकिने उल्लेख गरे ।  ‘अब मेरो नेतृत्वमा कोशी प्रदेशको सरकार बन्नुपर्छ, उनले भने, त्यसो हुँदा कोशी प्रदेश मध्यावधिमा जानबाट रोकिन्छ ।’