विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्  । विश्वासको मतकालागि दिउँसो १ बजेलाई प्रदेश सभाको बैठक बोलाइएको छ। गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा १६८को उपधारा ३ अनुसार प्रदेश सभामा ठुलो दलको हैसियतमा मुख्यमन्त्री भएका थिए । 

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कार्कीले विश्वासको मत पाउने सम्भावना भने कमजोर देखिएको छ ।  प्रदेश सभामा कायम रहेको सदस्य सङ्ख्या ९३ जना रहेकोमा ४७ जना सांसद भएपछि मात्र विश्वासको मत पाउन सक्ने देखिन्छ । प्रदेशसभामा एमाले र राप्रपा सरकार गठबन्धन रहेका छन् । यी दुई दलको ४६ जना सांसद मात्र रहेको अवस्था छ । सरकार गठबन्धनमा रहेको राप्रपाले  मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बारेमा केही प्रस्तावहरू अघि सार्दै आएको छ । त्यसको लागि हिक्मत कुमार कार्कीले अहिले रहेको सरकार गठबन्धन बाहिरका २ जना प्रदेश सभा सदस्यलाई ब्यवस्था गर्नु पर्ने त्यस्तो नभएको अवस्थामा राप्रपाले तटस्थ बस्ने बताई सकेको छ।  उपसभामुखबाहेक एमाले र राप्रपा जोड्दा ४५ सिट मात्र पुग्छ । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । राजनीतिक सहमति गरेर प्रदेशमा भएका काँग्रेस गठबन्धनका कुनै पनि दलले कार्की नेतृत्वको समर्थन गर्ने अवस्था छैन ।  कोशी प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद सहितको कोशी प्रदेश सभामा९३ जना सांसद रहेका छन् ।