विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अनेरास्ववियु को नगर अधिवेशनमा एमाले ताप्लेजुङका उप सचिव मणीसङ्कर पोमुले खुकुरी देखाउँदै विद्यार्थी माथि कुटपिट गरेका छन् । आफूले भनेको व्यक्तिलाई नगर उप सचिव नबनाएको भन्दै एमाले ताप्लेजुङका उप सचिव पोमु सहितको समूहले विद्यार्थीमाथि घर घरमा गएर कुटपिट समेत गरेका छन् । एमालेका जिल्ला नेताहरूले नै विद्यार्थीमाथि कुटपिट हुँदा नगर र जिल्ला अधिवेशन नै रोकिएको छ । अनेरास्ववियु ताप्लेजुङको अधिवेशन असोज २४ र २५ गते गर्ने तय भएको थियो । जिल्ला अधिवेशन गर्नु भन्दा पहिला नगर अधिवेशन चलिरहँदा पोमुले शनिवार कुटपिट गर्दै घर घर गएर विद्यार्थी र कार्यकर्तालाई धम्की समेत दिएको अनेरास्ववियु ताप्लेजुङका इन्चार्ज रोशन लामाले बताए । उनले पोमुको कुटपिटबाट सन्दीप श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको उपचार भई रहेको छ । पोमुले नगर अधिवेशनका क्रममा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नारद गौतम,पार्टीको तर्फबाट विद्यार्थी हेर्ने इन्चार्ज लेखनाथ भट्टराईलाई समेत धम्क्याएको लामाले बताए। अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा सुरुमा विवाद उत्पन्न भएको थियो । आफू जनबर्गिय सङठनको इन्चार्ज भएको भन्दै पोमुले विद्यार्थीका सिनियर नेता हुँदा हुँदै यजुनिरलाई अध्यक्ष मण्डल बनाएको असन्तुष्टहरूको दाबी छ। पोमु एमाले सचिव योगेश भट्टराईका निकट हुन । घटनाका विषयमा उनले आफूलाई थाहा नभएको बताए । उनले भने किन अधिवेशन रोकियो मलाई थाहा छैन ।