विराटनगर । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ । बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको  हो । 
काँग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिति बनेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएका हुन् । 
संविधानको धारा १६८ (३) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५)  अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन् ।
 सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आंवोलाई अगाडि सार्ने निर्णय गरे पनि  सत्ता गठबन्धनमै रहेको काँग्रेसको एउटा समूहले भने अझै मुख्यमन्त्रीको दाबी छाडेको छैन । कोशी प्रदेश सभाका सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । उनी लगायत उनी निकट प्रदेश सभा सदस्यहरू आन्तरिक रणनीति बनाउन व्यस्त छन् । उनीहरू अहिले काठमाण्डौबाट विराटनगर आउँदै छन् । कार्की समूहमा रहेका एक प्रदेश सभा सदस्यले आफूहरूले दाबी नछाडेको बताए । उनले भने नेतृत्वले माओवादीका संसदीय दलका नेता आंवोलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारे पनि हामी केदार कार्कीलाई  मुख्यमन्त्री बनाउन प्रयास रत छौ । उनले आफूहरूसँग सात देखि नौ प्रदेश सभा सदस्य रहेको दाबी गरे । उनले भने हामी विराटनगर आएपछि थप रणनीति बनाउँछौ । नेतृत्वले भन्दैमा मान्ने अवस्थामा छैनौ । 
सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको नेपाली काँग्रेस काशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए  । उनले काँग्रेस भित्रको विवाद मिली नसकेको भए पनि अन्तिममा काँग्रेस एक हुने बताए । उनले नेतृत्वको निर्णय सबैले मान्नु पर्ने र मान्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुंगले संविधानको धारा १६८९५० अन्तरगत सरकार गठनको आव्हान गरेका छन् । उनले भोली ५ बजे सम्म सरकार गठनको समय सीमा दिएका छन् । 
एमाले भने यदि बहुमत पुर्‍याउने सङ्ख्या लिएर आए उसैलाई मुख्यमन्त्रीमा सहयोग गर्ने रणनीतिमा रहेको छ । काम चलाऊ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता गठबन्धनमा रहेका कुनै पनि प्रदेश सभा सदस्य बहुमत पुर्‍याउने सदस्य लिएर आए एमालेले सहयोग गर्ने बताए ।