विराटनगर । कोशी प्रदेशमा गठबन्धन दलहरू भित्र विवाद चुलिएको छ। केन्द्रीय गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको भए पनि एमालेको समर्थनमा नेपाली काँग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेपछि गठबन्धन भित्र विवाद देखिएको छ। नेपाली काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीलाई नेकपा एमालेका ३९ जना नेपाली काँग्रेसका ९ जनाको हस्ताक्षर सहित ४८ जना प्रदेश सभा सदस्यले समर्थन गरेको हस्ताक्षरमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका हुन् । कोशी प्रदेशमा सरकार बनाउनकोलागि ४७ जना सदस्य आवश्यक हुन्छ ।
पार्टीको निर्णयविरुद्ध नेपाली काँग्रेसका ९ जना प्रदेशसभा उभिएका छन् । तिनै ९ जना जना नेपाली काँग्रेसका प्रदेश सभा सदस्यले माओवादीका इन्द्र आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।
कार्की सहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राई, हिमाल कार्कीले हस्ताक्षर गरेका छन् ।
नेपाली काँग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेसँगै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समेत दाबी प्रस्तुत गरेका छन् । उनले नेपाली काँग्रेसका २९ जना सांसद, नेकपा माओवादीका १३ जना, नेकपा एकिकृत समाजवादीका ४ जना र जसपाका १ जना गरी ४७ जनाको हस्ताक्षर बुझाएको बताएका छन् । दुई वटा प्रस्तावलाई सहमतिको आधारमा समाधानमा जाने बताएका छन् । ‘मैले ४७ जना माननीय सांसदहरूको हस्ताक्षर बुझाएको छु, उनले भने, मेरो मुख्यमन्त्री दाबीकोलागि यसमा संस्थागत निर्णय भएकोले बुझाएको हो । उहाँहरूले पनि संवैधानिक अधिकार भित्रै रहेर दाबी पेस गर्नु भएको छ ।’