विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् । दलको नेताको काम कार्वाही चित नबुझेको भन्दै उनले पदबाट राजीनामा दिएको बताएका छन् । कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्कीको पक्षमा हस्ताक्षर समेत गरेका छन् । देउवा समूहका बलियो नेता कार्कीले दलको उपनेताबाट
राजीनामा
दिएसँगै उनी डा शेखर कोइराला समूहमा देखिएका हुन् । सञ्चार पाटी डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले दलको नेताका कतिपय कुराहरूमा असन्तुष्टि रहेको कारण आफूले राजीनामा दिएको बताए । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका केदार कार्कीको दाबी संवैधानिक भएको बताए ।
‘यो कुनै दलको विधि विधानको कुरा हैन, उनले भने, नेपालको संविधानको धारा १६८ (५)अनुसारको व्यवस्था हो, यहाँ कुनै पनि दलको विधानले काम गर्दैन ।’ कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी प्रस्तुत गरेका छन् । नेकपा एमालेको ३९ जना र नेपाली काँग्रेसको ९ जना सहित ४८ जनाको समर्थनमा केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका छन् भनेँ गठबन्धन दलको तर्फबाट नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७ जना सांसदको रहेको भन्दै मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गरेका छन् ।