झापा । झापाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका– ३ मा लागु औषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– ९ का ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र ३२ वर्षीय अङ्कित भन्ने डिल्ली बहादुर खड्कालाई प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसै गरी झापाको गौरीगञ्ज गाउँपालिका– २बाट प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक– ५ का २५ वर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाईएको छ ।