विराटनगर । नेपाली काङ्ग्रेसले गरेको निर्णयको विरुद्धमा असन्तुष्टि जनाएर कोशीको मुख्यमन्त्रीको दाबी पेस गरेका केदार कार्कीको पक्षमा काङ्ग्रेसका थप सांसद खुल्ने भएका छन् । सङ्घीय सांसद सुनिल शर्मा र दीपक खड्काको अगुवाइमा थप ५ प्रदेश सभा सदस्यले केदारलाई साथ दिने तयारी गरेका छन् । यसका लागि आवश्यक तयारी पुरा भएको केदार कार्की निकट श्रोतले जनाएको छ । उनलाई मुख्यमन्त्री बनाउन बिहीबार काँग्रेस कोसीका ८ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका थियो । बेलुका दलका उप नेता रहेका हिमाल कार्कीले समेत उप नेताबाट राजीनामा दिएर केदारको पक्षमा खुलेका थिए । शुक्रवार ओखलढुङ्गाका प्रदेश सभा सदस्य प्रदीप सुनुवार लगायतका प्रदेश सभा सदस्यहरू केदारको पक्षमा खुल्न लागेका छन् । हस्ताक्षर गर्ने कागज बनिसकेको छ । कार्की निकट श्रोतले भन्यो, उहाँहरू बाहिर भएकाले केही बेरमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । हस्ताक्षर गराउन शर्मा र खड्का लागेका छन् । उनीहरूले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने गरेको निर्णयमा उद्धव थापाले समेत साथ दिएको भन्दै दलको नेता फेर्ने सम्मको कसरत सुरु गरेका छन् । केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका प्रदेश सभा सदस्य सम्शेर राईले थापाले दलमा छलफल नगरी बाहिर बाहिर छलफल गरेको आरोप लगाए । उनले भने, काङ्ग्रेसकै मुख्यमन्त्री बन्ने अवस्थामा माओवादीलाई मुख्यमन्त्री बनाउने निर्णयलाई साथ दिने उद्धव थापाले दलको नेता बनेर पार्टीलाई फाइदा हुँदैन ।